सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समयावधि २ दिनमा सकिँदै, दर्ता नहुनेलाई कारवाही गरिने

Category: HR News | Date: Oct. 16, 2019, 2:45 p.m. | Total Views: 2801



सरकारले निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई अनिवार्य गरेको रोजगारमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयसीमा भोलि (बिहीबार) सकिँदैछ। समयसीमा सकिन थोरै समय बाँकी हुँदा न्यून संख्यामा मात्रै रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ताहरू सामाजिक सुरक्षा काेषमा सूचीकरण भएका छन् ।

कोषका अनुसार, बुधबारसम्म ६ हजार आठ सय १६ रोजगारदाता कम्पनी र ८६ हजार सात सय ७३ श्रमिक सूचिकृत भएका छन्। गत मङ्सिरबाट रोजगारदाता कम्पनी र श्रमिकहरूको सहभागीताका लागि खुला गरिएको सामाजिक सुरक्षा योजनामा न्यून रोकम्पनीहरू मात्र सूचीकरण हुन आएपछि असोज मसान्त सम्मको लागि दोस्रो पटक म्याद थप गरिएको थियो।

सूचिकृत नहुने कम्पनीलाई कारवाही

सामाजिक सुरक्षा कोषमा सहभागी नहुने कम्पनीलाई शुक्रबारबाटै कानुन बमोजिम कारबाही  गरिने कोषले जनाएको छ। सूचीकृत नभएका प्रतिष्ठान वा रोजगारदातालाई करतिर्दा, नविकरण र अन्य कानुनी पक्रियामार्फत कारवाही गरिने र कारवाहीका विषयमा बिहीबार नै सूचना प्रकाशित गरिने, सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले बताइन्।

कोषको अनलाइन प्रणालीमार्फत रोजगारदाताले सूचीकरण प्रक्रिया सुरु गर्न सक्ने व्यवस्था मिलाइएको छ । अनलाइन निवेदनका लागि: https://sosys.ssf.gov.np/Modules/REGISTRATION/Submission.aspx   मा क्लिक गरी सूचीकरण गर्न सकिनेछ।

अधिक जानकारीका लागि:

बबरमहल, काठमाडौँस्थित सामाजिक सुरक्षा कोषको कार्यालयको फोन नं. ०१-४२५६१४४ र ०१-४२५६३१५ वा इमेल info@ssf.gov.np मा सम्पर्क गर्न सकिनेछ।

जानी राखौ, सुचित रहौ!